images

अरुणिमा मा.विको ३९ औं अभिभावक दिवस सम्पन्न

फागुन ११, काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा माध्यमिक विद्यालयले विविध सांस्कृतिक प्रस्तुतिसहित शनिवार ३९ औं अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसमा नर्सरीदेखि कक्षा १२ सम्मका छात्र–छात्राहरूले विविध लोक तथा आधुनिक नृत्य एवम् गायन, अर्केष्ट्रा, योग सहित डिजिटल साक्षरतासम्बन्धी चेतनामूलक नाटक लगायतका प्रस्तुतिहरू देखाएका थिए । कार्यक्रममा अर्थविद् तथा प्रतिष्ठानका सल्लाहकार केशवप्रसाद आचार्यले मुलुक निर्माणमा गुणस्तरीय प्राविधिक शिक्षाको भूमिका बारे चर्चा गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक आनन्द आदित्यले विभिन्न देशको शिक्षाको उदाहरण प्रस्तुत गर्दै शिक्षा जीवनोपयोगी हुनुपर्ने कुरामा जोड दिनुभयोे । अरुणिमा कलेजका क्याम्पस प्रमुख केशवप्रसाद जोशीले शिक्षाले मात्र संसारलाई परिवर्तन गर्नसक्ने हुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकहरू शैक्षिक रुपान्तरणको वाहक हुनुपर्ने बताउनुभयो । प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयमा भएका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलापकसम्बन्धी गतिविधिहरूको समग्र पक्षका बारेमा प्रकाश पार्नुभयो । प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका सहित करीब दुई हजारको उपस्थिति रहेको थियो । 

अरुणिमा शिक्षा सदनमा पनि अभिभावक दिवस
            प्रतिष्ठान अन्तर्गत सञ्चालित महाङ्कालमा अवस्थित अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयले पनि हालै अभिभावक दिवस मनाएको छ ।  प्रतिष्ठानका गुठियार तथा सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडालको सभापतित्व र डा. रामचन्द्र भट्टराईको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो ।  कार्यक्रममा विद्यालयकी प्राचार्य शोभा खनालले समग्र विद्यालको प्रतिवेदन, गतिविधि र अतिरिक्त क्रियाकलापको बारेमा प्रकाश पार्दै विद्यालयको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी गराउनु भएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष रेवतीरमण ढकालले अभिभावक शिक्षक र विद्यालयलाई जोड्ने अभिभावक संघले सधैं विद्यालयको उन्नति चाहेको  बताउँदै शिक्षण पद्धति समयानुकूल हुनुपर्ने बताउनुभयो । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले २०४२ सालमा स्थापना भई आजसम्म आइपुग्दा प्रतिष्ठानले अनेक आरोह अवरोहको सामना गर्नु परेको बताउनुभयो । प्रमुख अतिथि डा. रामचन्द्र भट्टराईले प्रतिष्ठानले भौतिक र शैक्षिक सुधारको क्षेत्रमा छलाङ मारेको बताउँदै अभिभावकले विद्यार्थीको पढाइमा विशेष चासो राखी सहयोगी भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्र बन्न सफल प्रतिष्ठान मातहत हाल अरुणिमा मा.वि. बौद्ध, नव अरुणिमा मा.वि. आरुबारी र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्काल सञ्चालनमा रहेका छन् ।

आइतबार​ ११ फागुन २०८१ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया