बिहुँकोट समाज जापान कान्साईद्वारा ''तनाव नियन्त्रण तथा चिन्तामुक्त जीवनसम्बन्धी'' प्रेरणादायी कार्यक्रम सम्पन्न

ओसाका, जापान। बिहुँकोट समाज जापान, कान्साईको आयोजनामा “तनाव नियन्त्रण र चिन्तामुक्त जीवन” विषयक एक महत्वपूर्ण मोटिभेशनल तथा ध्यान–योग कार्यक्रम ओसाकामा सफलतापूर्वक सम्पन्न भएको छ। ‘आफ्नो अन्तरआत्मासँग जोडिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्दै’ भन्ने मूल नाराका साथ ओसाकास्थित अबेनो सिमिन गाकुशु सेन्टरमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा प्रसिद्ध मानसिक स्वास्थ्य प्रशिक्षक तथा उत्प्रेरक गिरी बहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो। उहाँले सहभागीहरूलाई मनोवैज्ञानिक सन्तुलन, आत्मचिन्तन, तनाव व्यवस्थापनका उपायहरू तथा सकारात्मक सोचको विकासबारे गहन प्रशिक्षण प्रदान गर्नुभयो। “मन परिवर्तन नै जीवन परिवर्तनको आधार हो” भन्ने सन्देश दिँदै उहाँले विभिन्न व्यवहारिक अभ्यासहरू पनि गराउनुभएको थियो, जसले सहभागीहरूलाई दैनिक जीवनमा तनावमुक्त रहन सहयोग पुग्ने विश्वास गरिएको छ।

जापानमा रहेका नेपाली समुदायको मानसिक स्वास्थ्य सुदृढीकरण तथा सकारात्मक जीवनशैली विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूमा उत्साह र सकारात्मक ऊर्जा थपेको आयोजकले जनाएको छ।

संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्द्रलाल सुवेदीको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए कान्साईका संयोजक भीम  काउचा र समाजका महासचिव बल कँडेल क्षेत्री मुकेशले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष लक्ष्मण कडेंलले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो कार्यक्रमको सहजिकरण समाजका सचिव कृष्ण कँडेलले गर्नुभएको थियो।