माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी

काठमाडौं - राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए। तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ।

शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन्। तर, कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकवर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ।

यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए। छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।

उनीहरुबीचको कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ। र आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्नेगरी बिहानको बैठक नेताहरुले टुंग्याएका हुन्।