राप्रपाको निर्णय : उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । 

राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए ।

विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराएका थिए । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो ।