images

शिक्षा, स्वास्थ्य र खेलकुदका लागि गल्कोट समाजको ‘सांगीतिक श्रृंखला २०२६’

टोकियो। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा गल्कोट समाज जापानले ओसाका, नागोया र टोकियोमा ‘सांगीतिक श्रृंखला २०२६’ आयोजना गर्ने भएको छ। डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा कार्यक्रम हुने अध्यक्ष रत्नसिङ बस्नेतले जानकारी दिए।

सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित आगामी २०२५ डिसेम्बर ३१ मा ओसाका, २०२६ जनवरी १ मा नागोया, र २०२६ जनवरी २ मा टोकियोमा ‘सांगीतिक श्रृंखला २०२६’ आयोजना हुने अध्यक्ष रत्नसिङ बस्नेतले जानकारी दिएका छन्।

स्टोन्यताको एक वर्षे अभियान र सामाजिक योगदानलाई निरन्तरता दिने आफ्नो मूल उद्देश्यसहित संस्थाले जापानमा मात्र होइन, नेपालका विभिन्न जिल्लामा सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। जापानमा सक्रिय सामाजिक संस्थाहरूमध्ये अग्रस्थानमा पर्ने गल्कोट समाज जापानले समुदायको विश्वास र पहिचान स्थापित गर्दै २० वर्षे सामाजिक यात्रामा निरन्तर सेवा र सहयोगप्रति समर्पण कायम राखेको छ।

कार्यक्रमको तयारीका लागि मुख्य संयोजक दिलबहादुर थापा (रामु), उप–संयोजक डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलिप कंडेल, तथा क्षेत्रीय संयोजकहरूमा टोकियोका लक्ष्मण कार्की, नागोयाका राम थापा (काजी) र ओसाकाका नारायण थापा रहने गरी कार्यविभाजन गरिएको महासचिव दिलीप कंडेलले बताए।

गत वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमबाट संकलित रकम शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गरिने आर्थिक संयोजक तथा कोषाध्यक्ष महेन्द्र साहानीले बताएका छन्। यो कार्यक्रम केवल मनोरञ्जनकै लागि नभई जन्मभूमिको उज्यालो भविष्य र दीर्घकालीन सामुदायिक लगानी भन्ने विश्वासका साथ अघि बढाइएको आयोजक समितिको भनाइ छ।

संस्थाका प्रवक्ता सन्तोष पुनले जापानभरका नेपाली तथा संघ–संस्था, क्लब, क्षेत्रीय समाज र विभिन्न संगठनलाई कार्यक्रम नजुधाइ सहयोग गर्न, साथै ओसाका, नागोया वा टोकियोमा उपलब्ध स्थलअनुसार आर्थिक, नैतिक तथा भौतिक समर्थनसहित उपस्थित भएर साथ दिन आग्रह गरेका छन्।

बुधबार १० मंसिर २०८२ ०३:४३ PM मा प्रकाशित

प्रतिक्रिया