भदौ ११, काठमाडौं । मुलुकको प्रतिष्ठित निर्माण कम्पनी कालिका कन्स्ट्रक्शन प्रा.लिले बाढी तथा पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
कालिका कन्स्ट्रक्शन प्रा.लिका अध्यक्ष एवं प्रबन्ध निर्देशक, पूर्वमन्त्री तथा वरिष्ठ समाजसेवी विक्रम पाण्डेले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
मिति २०८३ भदौ १० गते बुधबार बिहान चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति पाण्डेले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
उहाँले मुलुकको इतिहासमै त्रासदीपूर्ण उक्त घटनामा परी ज्यान गुमाउनु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गर्नुभएको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कालिका कन्स्ट्रक्शनले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया