छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रहार गरी हत्या !

परासी - नवलपरासीको सुनवलमा छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

गय राति सुनवल–१३ बिचैपुरमा २५ वर्षिय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउँकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले बताए । 

हत्या गरेर शवलाई घरभित्र छाडेर अभियुक्त फरार भएका थिए । उनीहरुको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ । काम गरेर साँझ घर फर्केका मृतकका श्रीमान्ले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए ।

अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका अभियुक्त रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ परेका छन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।