टोकियो, जापान — गल्कोट स्पोर्ट्स क्लब टोकियो, जापानले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर ११औँ सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सन् २०१५ मा स्थापना भएको क्लबले हरेक वर्ष आयोजना गर्दै आएको सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता यस वर्ष मे ७ (बिहीबार) मा सञ्चालन गरिने महासचिव नारायण थापाले जानकारी दिएका छन्। क्लबले स्थापना कालदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र सामुदायिक एकताको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै यस वर्षको प्रतियोगिताले विशेषगरी नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा संरक्षण र प्रवर्द्धन गर्नुका साथै खेलाडी तथा खेलको विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए।
यसैबीच, संस्थाका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न विभागीय संयोजकहरू तोकी जिम्मेवारी बाँडफाँड गरेको छ। अध्यक्ष खत्रीले क्लबले स्थापना कालदेखि नै भलिबललाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै विगतमा १०औँ संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र अब ११औँ संस्करणलाई अझ व्यवस्थित, आकर्षक तथा सहभागीमैत्री बनाउने लक्ष्य रहेको बताए। उनले खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र सामुदायिक एकता अभिवृद्धि गर्नु संस्थाको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले ३,३३,३३३ येन नगदसहित रनिङ सिल्भर कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने टोलीले २,२२,२२२ येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय (सान्त्वना) हुने दुई टोलीले ६१,१११ येन नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुने टोलीलाई १,११,१११ येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टोलीलाई ६६,६६६ येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरुषतर्फ दर्ता शुल्क ४०,००० येन र महिलातर्फ २०,००० येन निर्धारण गरिएको आर्थिक संयोजक कुशल भण्डारीले जानकारी दिएका छन्।
खेल संयोजक विजय बस्नेतका अनुसार प्रतियोगितामा पुरुषतर्फ प्रत्येक टोलीबाट १० खेलाडी र २ अफिसियलसहित अधिकतम १२ जनाको सहभागिता रहनेछ। साथै, राष्ट्रिय खेलकुद परिषद्को सातौँ, आठौँ, नवौँ संस्करण तथा विभागीय टोलीबाट खेलिसकेका बढीमा दुई जना खेलाडी मात्र समावेश गर्न पाइने व्यवस्था गरिएको छ।
बस्नेतका अनुसार विगतमा महिलातर्फ मैत्रीपूर्ण प्रतियोगिता मात्र आयोजना गरिँदै आएको भए पनि यस वर्ष खेलाडी तथा दर्शकहरूको मागलाई मध्यनजर गर्दै प्रतिस्पर्धात्मक महिला प्रतियोगिता र भेट्रान्सतर्फ मैत्रीपूर्ण खेलसमेत समावेश गरिएको छ। प्रतियोगिता प्रचलित नक–आउट प्रणाली अनुसार नेपाली रेफ्रीमार्फत सञ्चालन गरिनेछ भने प्रतियोगिताको टाइसिट मे ६ साँझ ५ बजे सार्वजनिक गरिनेछ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई निर्धारित समयमा खेल पोशाकसहित मैदानमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। उक्त प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको सिल्भर रनिङ कप संस्थाका सल्लाहकार चन्द्र खत्रीले आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा प्रायोजन गरेका हुन्।
प्रतिक्रिया