images

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं । सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो ।चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कोदो रोपाइँ गरी दिवस मनाउन लागिएको हो ।साना किसानको आय आर्जन वढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउदै खाद्य प्रणालीको रुपान्तरण गर्न कोदोजन्य बालीको महत्वपूर्ण भूमिका रहने सरकारको बुझाइ छ ।
त्यसकारण राष्ट्रियस्तरमा कोदोजन्य बालीको महत्व र भूमिका लाई थप उजागर गरि खेती विस्तार र प्रवद्र्धनमा संयुक्त प्रयासहरु केन्द्रित गर्न यसै बर्ष देखि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जजेलले बताए ।उनका अनुसार विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि पछिल्लो समय कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको छ ।‘नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन् । यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन,’ उनले भने ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आव २०८०÷८१ को तथ्याङ्क अनुसार २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती गरिएको थियो । जसमा ३ लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।हालको अवस्थामा कोदोजन्य बालीको उत्पादकत्व १. ३३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । कोदोजन्य बालीहरुमा उन्नत प्रबिधिको प्रयोग, सिचाई, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना रहेको विभाग द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि विभिन्न गतिविधिहरु सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइएको थियो । त्यसपछि बिभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ । भन्सार बिभागको पछिल्लो तथ्याङ्क अनुसार गत आव २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बस्तु आयात भएको छ । सोही बर्ष नेपालले ९४ लाख ७ हजार बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको गरेको भन्सारको तथ्यांकले देखाएको छ ।
 

बिहीबार १५ साउन २०८२ १०:०७ AM मा प्रकाशित

प्रतिक्रिया