दोहा । अमेरिका जाने क्रममा स्वास्थ्य समस्या भई कतारको दोहामा आकस्मिकरूपमा भर्ना गरिएका नेपाली नागरिक विनोद गौतम अन्ततः सकुशल अमेरिकामा अवतरण गर्न सफल भएका छन्। उक्त सफलतामा गैरआवासीय नेपाली संघ (एनआरएन) कतारका सचिव अर्जुन संग्रौला र गुल्मी तम्घास घर भई केहि समय अघी देखि कतारमै बसोबास गर्दै आउनु भएकी नेपाली चिकित्सक डा. मोनिका दुतराज र क्रान्ति सिंह लगायतका व्यक्तिकाे अतुलनीय सहयोग निर्णायक रहेको बताइएको छ।
विनोद गौतम अमेरिका जानका लागि नेपालबाट प्रस्थान गरेका थिए, तर यात्राकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कतारको दोहास्थित एक अस्पतालमा आपतकालीन भर्ना गर्नु परेको थियो। सो अवस्थामा कतारमा रहेका नेपाली समुदायका व्यक्तिहरूले तत्परता देखाउँदै आवश्यक उपचार, स्याहार (सुसार र व्यवस्थापनको जिम्मा लिए।
एनआरएन कतारका सचिव अर्जुन संग्रौलाले नेपाली नागरिकप्रतिको जिम्मेवारी बोध गर्दै तुरुन्त अस्पतालमा सम्पर्क राखेर आर्थिक, व्यवस्थापकीय र कानुनी सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। अर्कोतर्फ, डा. मोनिका दुतराजले चिकित्सकीय सल्लाह, उपचार व्यवस्थापन तथा नियमित निगरानीमा विशेष ध्यान दिनुभयो। विनोद गौतमको स्वास्थ्यमा सुधार आएपछि आवश्यक औपचारिक प्रक्रिया पूरा गरी उहाँलाई पुनः यात्राका लागि योग्य बनाइएको थियो। सबै पक्षको समन्वय र सहयोगले उहाँको अमेरिका यात्रा सफल भएको हो। यस घटनाले विदेशमा आपतमा परेका नेपालीहरूको लागि सहकार्य र एकता कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। साथै, यस्ता मानवीय सहयोगले नेपाली समुदायमा विश्वास, सहानुभूति र सेवाभावलाई थप सशक्त बनाएको छ। एनआरएन कतारका सचिव संग्रौलाले भने, “नेपालीहरू विदेशमा संकटमा परेका बेला सघाउनु हाम्रो कर्तव्य हो। विनोदजीको घटनाले हामीलाई अझ बढी उत्तरदायी र संवेदनशील बनाएको छ।
यस उदाहरणले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आपसी सहकार्य, सहयोग र सहानुभूतिको भावनालाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्नेछ ।
प्रतिक्रिया