धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ४८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए अनुसार विहान सातबजेदेखि सवा १२ बजेसम्ममा ४८ प्रतिशत मतदान भएको छ । आज विहान सवा सातबजेदेखि शुरु भएको मतदाताको क्रममा १५५१ जनाले मतदान गरेको मुख्यनिर्वाचन अधिकृत खड्काले बताए । आज अपरान्ह् ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ । धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधामको गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ । मतदानस्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रुपमै मतदाताहरु अहिलेसम्म मतदान गरिरहेको छ । सो उपनिर्वाचनमा धनुषाधाम नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया