images

‘नेपाल हाउस’ निर्माणका लागि ‘टोकियो सप्ताह–२०२५’ भव्य रूपमा सुरु — हजारौं भक्तजनको उपस्थितिमा वैदिक उद्घाटन

टोकियो । जापानमा ‘एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्र’ निर्माण गर्ने पवित्र उद्देश्यसहित आर्थिक सहयोग संकलनार्थ आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञ — ‘टोकियो सप्ताह–२०२५’ विधिवत् रूपमा प्रारम्भ भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको मुख्य आयोजना र जापानभरका विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सञ्चालन भएको यो सप्ताहव्यापी धार्मिक तथा सांस्कृतिक महायज्ञ नोभेम्बर १५ तारिखसम्म चल्नेछ।

उद्घाटन समारोहमा हजारौं जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। महायज्ञको शुभारम्भ वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र बौद्ध धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले वैदिक विधिपूर्वक उद्घाटन गर्दै गर्नुभयो। शुभारम्भपछि सनातन र बौद्ध परम्पराअनुसार पूजाअर्चना, कलश परिक्रमा तथा सामूहिक भजनकीर्तन सम्पन्न गरिएको थियो।

 औपचारिक सत्रमा वक्ताहरूले महायज्ञलाई प्रवासमा नेपाली कला, संस्कृति, र धार्मिक मूल्यहरूको संरक्षण तथा आगामी पुस्तामा हस्तान्तरण गर्ने कोसेढुङ्गाका रूपमा व्याख्या गरे।
उक्त अवसरमा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर पौडेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोबिन शेरचन, उच्चस्तरीय समितिका अध्यक्ष महेश श्रेष्ठ, तथा एसिया प्यासिफिक उपसंयोजक दिपक कँडेललगायतले नेपाली घर ९नेपाल हाउस० निर्माणका लागि सबै नेपालीहरूबाट सक्दो सहयोग गर्न आग्रह गरे।

एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले उद्घाटन भाषणमा जापानमा रहेका सबै नेपालीहरूको एकताबद्ध प्रयासले नेपाल हाउस निर्माण सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै, सहभागिता र आर्थिक सहयोगका लागि सबैमा अपिल गरे।

कार्यक्रममा सहभागी भक्तजनहरूले जापानको व्यस्त जीवनबीच यस्तो धार्मिक आयोजनाले ‘घरदेशको झल्को मेटाएको’ तथा मनमा शान्ति, श्रद्धा र आनन्द जगाएको बताए। पहिलो दिनको उत्साहपूर्ण सहभागिताले जापानस्थित नेपाली समुदायबीचको बलियो एकता र महायज्ञप्रतिको गहिरो आस्था झल्काएको थियो।

पहिलो दिनकै अवसरमा एकीकृत नेपाली घरका लागि उल्लेखनीय योगदान पुर्‍याएका एनआरएनए उपाध्यक्ष रोबिन शेरचनलाई दुवै धर्मगुरुहरूले विशेष सम्मान प्रदान गरे। आयोजकका अनुसार भोलिदेखि दानवीरहरूलाई नियमित रूपमा सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

 

आइतबार​ २३ कात्तिक २०८२ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया