images

नीतिमा आधारित बजेट छुट्टयाउन मन्त्री काफ्ले प्रतिबद्ध 

हेटौडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शारीरिक रुपमा अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व ‘आशा विशेष पाठशाला’ले निर्वाह गरेको बताएका छन् ।
बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाहरुको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गर्दै आउँदो दिनहरुमा प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्टयाउने प्रतिबद्घता गरेका छन् ।
‘कस्तो विडम्बना छ, एकातिर नेपाली युवाहरुको विदेशिने लहर छ । अर्कोतिर विदेशी चेलीले देशमा आएर समाज सुधार अभियान चलाईरहेकी छन्’, मन्त्री काफ्लेले भने, ‘अब हाम्रो देश बनाउनेतर्फ तीन तहका सरकारसँगै युवाहरुले पनि हातेमालो गर्न जरुरी छ ।’
आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको सञ्चालक संस्था आशा फाउन्डेशनकी संरक्षक आइना बार्का पढाइको सिलसिलामा पहिलोपटक सन् २०१२ मा नेपाल आएकी थिइन् । युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी आइना त्यतिबेला २१ रहेकी उनी बताउँछिन् ।
आफ्नो देशमा पनि बौद्धिक अपाङ्गता भएकाहरूसँग काम गरिरहेकी आइना यस्तै व्यक्तिबारे थप जानकारी लिने उद्देश्यले नेपाल आएकी बताइन् । तर, पहिलोपटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको आइनाको भनाइ छ । उनी भन्छिन, ‘पहिलो पटक म हेटौँडा आउँदा अशक्त बालबालिकाको लागि पढ्ने विद्यालय नै थिएन । हेटौंडामा भन्दापनि, पूरै मकवानपुर जिल्लामै विद्यालय नभएको कारणले बालबालिकाहरू सधैँ घरमा बस्थे । उनीहरूको काम सुत्ने र खाने मात्रै थियो ।’
त्यस लगतै उनी स्पेन फर्किन । स्पेन फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर उनले सोच बनाइन् । तर, आइनालाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । त्यस अवधिभर उनले स्पेनमा दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । उनले रकम संकलनको क्रममा स्पेनका अधिकांशलाई नेपाल कहाँ हो भन्ने पनि थाहा नभएकोले पैसा जुटाउन निकै असहज भएको आफ्नो त्यो अनुभव सुनाइन् ।
यसरी संकलन भएको पैसा बोकेर उनी नेपाल फर्किइन् । एउटा सुन्दर संसार बनाउनका लागि अशक्त बालबालिकाहरुको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना बोकेर आइना सुरुमै हेटौँडा आइन् । सन् २०१३ को डिसेम्बरमा आइनाले हेटौँडामा आशा विशेष पाठशाला खोलिन् । यो स्थापना गर्दाको सुरुवाती समय स्मरण गर्दै उनले त्यसबेला आफू विदेशी र एक्ली महिला भएकै कारण भेदभाव सहनुपरेको बताइन् । तर, करिब दुई दुई महिनाको निरन्तर संघर्ष पश्चात् अन्ततः उनी सफल भइन् ।
हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा आशा विशेष पूर्व व्यवसायिक शिक्षा तथा सिपमुलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका २४ जना शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षा लगायतको काम गदै आएको आशा विद्यालयलाई बागमती प्रदेश सरकार र आर्थिक मामिला मन्त्री काफ्लेको प्रतिबद्घता अनुसार आवश्यक सहयोग प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
 

बिहीबार २७ भदौ २०८१ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया