नेपाली बक्सर ‘हिमालयन चितुवा’ले राखे नयाँ कीर्तिमान

ओसाका, जापान। नेपाली युवा अविरल बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्वप्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल  हुन् भएको छ।  ‘हिमालयन चितुवा’को नामले विश्वभर परिचित बक्सर घिमिरेले पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गर्नु भएको हो ।

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका बक्सर अविरलले हालै ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेसनल योयोगी स्टेडियममा गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुनु भएको थियो ।

 ‘च्याम्पियन’ जिन्कलाई रिङमा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बनेको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए । उनका अनुसार ‘के वन क्रस १७५’लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । 

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । 

अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउन्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका हुन् । सो अन्तर्राष्ट्रिय खेल हेर्न जापानमा रहेका नेपाली  तथा जापानीको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिताका निम्ति बक्सर अविरलले थाइल्यान्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिनु भएको थियो।