भवानी भट्ट, टोकियो ।
जापानमा रहेर नेपाली पत्रकारितामार्फत समुदायमा सूचना प्रवाह तथा जनचेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आएका पत्रकार शान्त पहरीलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले सम्मान गरेको छ। टोकियोमा आइतबार आयोजित ३२औँ विश्व आदिवासी दिवस विशेष समारोहका अवसरमा पत्रकार पहरीलाई महासंघले सम्मानपत्र प्रदान गरेको हो।
सम्मानपत्रमा जापानको व्यस्त प्रवासी जीवनका बीच लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रही आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ। जापानमा रहेका नेपाली समुदायसमक्ष सत्य, तथ्यपरक एवं महत्वपूर्ण सूचना तथा समाचार निरन्तर सम्प्रेषण गर्दै समुदायलाई सुसूचित, सचेत र जागरुक बनाउन पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाइएको छ।

त्यसैगरी, नेपाली समुदायका हक, अधिकार, सामाजिक न्याय, आदिवासी जनजातिका सवाल तथा समसामयिक विषयलाई पत्रकारितामार्फत उजागर गर्दै आवाजविहीनहरूको आवाज बुलन्द गर्न पुर्याएको योगदानको समेत महासंघले प्रशंसा गरेको छ।
सम्मानपत्रमा जापानमा नेपाली पत्रकारिताको विकास, प्रवर्द्धन तथा विश्वसनीय सूचना प्रवाहमा पत्रकार पहरीले पुर्याउँदै आएको निरन्तर योगदान आगामी पुस्ताका लागि समेत प्रेरणादायी र अनुकरणीय रहने विश्वास व्यक्त गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, महासचिव बालबिक्रम टिगेला लिम्बू तथा समारोहका प्रमुख अतिथि जापानका कार्यवाहक राजदूतले हस्ताक्षर गरेको सम्मानपत्रमा पत्रकार पहरीको पत्रकारिता यात्रा अझ सशक्त, निष्पक्ष, निर्भीक र उपलब्धिमूलक बन्दै जाओस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ।
पत्रकार पहरी मातृसन्देश डटकमका प्रधानसम्पादक, जनजाति पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष हुन्। जापानमा रहेर नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय पहरीले प्रवासी नेपाली समुदायका गतिविधि, समस्या, अधिकार र समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएका छन्। जापानमा नेपाली समुदायको संख्या र गतिविधि विस्तार हुँदै जाँदा प्रवासी पत्रकारिताको भूमिका पनि थप महत्वपूर्ण बन्दै गएको छ।
यस्तो अवस्थामा समुदायका आवाज, अधिकार, समस्या तथा सकारात्मक गतिविधिलाई निरन्तर सञ्चारमाध्यममा स्थान दिँदै आएका पत्रकारलाई संस्थागत रूपमा गरिएको सम्मानले प्रवासमा पत्रकारिताप्रतिको जिम्मेवारी र हौसला थप बलियो बनाउने विश्वास गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ जापानले यस सम्मानमार्फत पत्रकार पहरीले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मात्र कदर गरेको छैन, प्रवासमा नेपाली समुदायका सवाललाई निरन्तर उठाउँदै आएको पत्रकारिताको भूमिकालाई समेत सम्मान गरेको सन्देश दिएको छ।
प्रतिक्रिया