हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगर क्षेत्रमा तोकिएको समयभन्दा बढी डान्सबार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहीबार, शुक्रबार र शनिबार राति करिब १२ः४५ बजेको समयमा नगरभित्र सञ्चालनमा रहेका विभिन्न डान्सबार तथा दोहोरी साँझहरूमा अनुगमन गरिएको थियो । यो क्रममा तोकिएको समय सीमा उल्लंघन गरी व्यवसाय सञ्चालन भइरहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । तर, निर्देशन अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा पर्नेहरूमा हेटौँडा–१० स्थित ब्लुमुन डान्सबारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेबल अप डान्स बारमा कार्यरत २३ वर्षीय संयोग सुनार, हेटौँडा–१० स्थित आरआरएस दोहोरी साँझमा कार्यरत २५ वर्षीय सुजन घलान तथा सिरेटो थकाली रोधी गजल घरमा कार्यरत ३० वर्षीय इन्द्रबहादुर ओली रहेका छन् । त्यसैगरी, हेटौँडा–४ स्थित ओजन बारबाट रोशनी मगरसहित तीनजना नाबालिका समेत नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायक उपरीक्षक एसपी श्यामबहादुर खत्रीले तोकिएको समयभन्दा बढी सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने स्पष्ट पारेका छन् । उनले नियम विपरित सञ्चालन गर्ने व्यवसायीलाई छुट नदिइने उल्लेख गर्दै कानुन कार्यान्वयनमा प्रहरी कठोर रहने बताएका छन् । प्रहरीले नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै, सम्बन्धित व्यवसायीहरूलाई तोकिएको समय सीमा पालना गर्न पुनः आग्रह गरिएको छ ।
प्रतिक्रिया