images

दुवइ इन्टर्नसिपमा सहभागी ब्रिटिस कलेजका विद्यार्थीले खोले विवादको रहस्य

दुवइ इन्टर्नसिपमा सहभागी विद्यार्थी भन्छन् स् ‘समस्या थियो, तर दुवै पक्षको कमजोरी छ’व्रिटिस कलेजका विद्यार्थी भन्छन् स् थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियोकाठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमार्फत दुबइमा सञ्चालन गरिएको इन्टर्नसिप कार्यक्रम यतिबेला विवादको घेरामा परेको छ । इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लागेपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ ।मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् । सामाजिक सञ्जालमा कलेजविरुद्ध नकारात्मक टिप्पणीहरू बढिरहेका छन् । तर सोही इन्टर्नसिप कार्यक्रममा सहभागी विद्यार्थी निर्जल रन्जितले कलेज प्रशासन र विद्यार्थी दुवै पक्षमा कमजोरी रहेको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले इन्टर्नसिपका क्रममा समस्या आएको स्वीकार गरेपनि ती समस्यालाई लिएर तथ्यहीन आरोप लगाउनु उपयुक्त नभएको धारणा राखे । रन्जितका अनुसार उनले फाउन्डेसन कोर्स पूरा गरेपछि दुबइस्थित टीडब्ल्यूआईमा इन्टर्नसिपका लागि गएका थिए । सुरुआती चरणमा सिभी सम्बन्धी केही समस्या देखिएको उनले बताए ।तर समस्या देखिएलगत्तै कलेजका विभागीय प्रमुखसँग कुरा गर्दा कलेजले सक्रिय रुपमा सहयोग गरेको उनको भनाइ छ । ‘इमिरेट्स कार्ड नआएसम्म काम गर्न नमिल्ने अवस्थामा कलेजले प्रोफेसनल सिभी सेसन राख्यो, शिक्षकहरूले व्यक्तिगत रूपमा सिभी बनाइदिने र कक्षा बाहिर समय दिएर पनि सहयोग गर्नुभयो,’ उनले भने ।उनका अनुसार इन्टर्नसिपमा काम पाउने विषय पहिलेदेखि नै ‘क्षमतामा आधारित’ हुने कुरा अभिभावक र विद्यार्थीलाई स्पष्ट गरिएको थियो । ‘काम कन्फर्म हुन्छ भनेर कसैले पनि भनेको थिएन, विद्यार्थीको क्यापाबिलिटी अनुसार अवसर पाइन्छ भनिएको थियो,’ उनले स्पष्ट पारे ।कुराकानीमा रन्जितले इन्टर्नसिपका क्रममा सबैभन्दा ठूलो असर नेपालमा भएको आन्दोलन र विरोध प्रदर्शनले पारेको दाबी गरेका छन् । ‘प्रोटेस्ट भएपछि नेपाली विद्यार्थीहरूको इमेज नै डाउन भयो । सिभी एक्सेप्ट भएपनि पासपोर्ट नम्बरका कारण सरकारी नियमअनुसार हामीलाई तत्काल काम दिन नसकिएको अवस्था आयो,’ उनले भने । अहिले भने समस्या समाधान भइसकेपछि विभिन्न ठाउँबाट कामका लागि सन्देश र अनुरोध आउन थालेको उनको भनाइ छ ।उनले विवाद समाधानका लागि शान्त र मर्यादित तरिकाबाट प्रश्न उठाउनुपर्नेमा जोड दिए । ‘समस्या आएको हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने । सामाजिक सञ्जालमा आफूमाथि घुस लिएको जस्ता निराधार आरोप लगाइएको भन्दै उनले त्यसको प्रमाण देखाउन चुनौती समेत दिएका छन् ।रन्जितले आफू पनि केही हदसम्म पीडित भएको उल्लेख गर्दै इन्टर्नसिपको सुरुआती दिनमा आवास र सुविधामा समस्या भोग्नुपरेको बताए । ‘समय अनसर्टेन भएको कारण म पहिलो दिन ग्राउन्डमा म्याट्रेस राखेर सुत्नुपरेको थियो । त्यो बेला निकै मानसिक तनाव भयो, घरमा फोन गरेर रोएँ पनि,’ उनले भने । यद्यपि, अन्य विद्यार्थीहरू भने बेडमै सुतिरहेको अवस्थामा रहेको र यसलाई एकपक्षीय रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ । तर, यस्ता समस्याहरु व्यवस्थापनको सामान्य कमजोरीका कारण भएको र पछि सुधार भएको उनको भनाइ छ ।उनका अनुसार विदेशी मुलुकमा काम गर्न जाने विद्यार्थीले आफ्नो अनुशासन, प्रस्तुति र व्यावसायिक मापदण्डमा पनि ध्यान दिन आवश्यक हुन्छ । विदेशमा नेपालजस्तो सजिलै काम नपाइने भएकाले स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने उनको भनाई छ । रन्जितले इन्टर्नसिप विवादलाई एकपक्षीय रूपमा मात्र हेर्नु उपयुक्त नहुने र कलेज, विद्यार्थी तथा परिस्थितिजन्य कारणहरू सबैलाई समेटेर निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।समस्या देखिँदा विरोध गर्नु गलत होइन तर विरोध गर्ने शैली शालिन र संयमित हुनुपर्ने उनको तर्क छ । ‘प्रोटेस्ट गर्नु राम्रो हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने। दुबइमै पनि केही विद्यार्थीहरूले असन्तुलित व्यवहार गर्दा समस्या झन् जटिल बनेको उनले दाबी गरे । ‘म आफैं प्रत्यक्षदर्शी हुँ, उता पनि हंगामा भयो,’ रन्जितले बताए ।इन्टर्नसिपका क्रममा काम नपाएको विषयमा उनले स्पष्ट पार्दै इन्टर्नसिप मुख्यतः अध्ययनसँगै प्राक्टिकल अनुभवका लागि भएको बताए । ‘हामी पढ्न गएका हौँ, इन्टर्न प्राक्टिकल नलेजका लागि हो,’ उनले भने । कक्षाको संख्या कम भएको भन्ने आरोपबारे पनि उनले कलेजले हस्पिटालिटी विद्यार्थीका लागि प्राक्टिकललाई प्राथमिकतामा राखेर एक दिन कक्षा र बाँकी समय इन्टर्नका लागि व्यवस्था गरिएको स्पष्ट पारे ।आर्थिक विषयमा फैलाइएका आरोपप्रति पनि रन्जितले आपत्ति जनाएका छन् । उनले ६० लाख रुपैयाँ खर्च भएको दाबीलाई गलत ठहर गर्दै कलेजको आधिकारिक ब्रोसरमै शुल्क स्पष्ट उल्लेख भएको बताए । ‘लेभल फोर र फाइभको शुल्क ७ लाख ५० हजार रुपैयाँ हो, १५ लाख वा ६० लाख भन्ने कुरा पूर्ण रूपमा गलत हो,’ उनले भने । आफूले हालसम्म करिब ११ लाख रुपैयाँ मात्रै लगानी गरेको र बाँकी तह पूरा गर्दा पनि कुल खर्च २७–२८ लाख रुपैयाँभन्दा बढी नहुने उनको दाबी छ ।एजेन्टमार्फत गरिएको लेनदेनमा समस्या आएर केही विद्यार्थीको पैसा ठगी भएको विषयमा उनले कलेजभन्दा एजेन्टको गल्ती प्रमुख रहेको बताए। ‘रिसिप्ट बिना पैसा दिनु आफैं जोखिम हो,’ उनले भने । यद्यपि, कलेजले आवास शुल्कसमेत बाँकी दिनअनुसार फिर्ता गरेको उदाहरण पनि उनले प्रस्तुत गरे । रन्जितले आफू कलेजको पक्षमा वा आन्दोलनरत विद्यार्थीको विपक्षमा नभएको स्पष्ट पारे । ‘म न कलेजको साइड लिन्छु, न स्टुडेन्टको, जे सत्य हो, त्यही बोल्छु ।’उनका अनुसार समस्या समाधानका लागि संवाद, धैर्य र मर्यादित तरिका नै सही बाटो हो । सत्य बोल्दा तितो लाग्न सक्ने भन्दै उनले हंगामा गरेर होइन, समझदारीबाट समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।
 

सोमबार १४ पुस २०८२ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया