बेलायत पठाइने नर्स : डेढ महिनामा ५३९ मध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत, अधिकांशको अङ्ग्रेजी समस्या

काठमाडौं । रोजगारीका लागि बेलायत जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलेको डेढ महिनामा ५३९ जनाको आवेदन परेको छ । तर, मागिएअनुसारको मापदण्ड नपुग्दा आवेदकमध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार २१ जुलाईदेखि ११ सेप्टेम्बरसम्म ५३९ जनाको आवेदन परेको हो । त्यसमध्ये २२ जनाको मात्रै स्वीकृत भएको हो । आवेदन दिएकामध्ये केहीको भने मापदण्ड पुर्‍याएर कागजपत्र पेस गरे अझै स्वीकृत हुने सम्भावना रहेको उनले बताए । 

आवेदन अस्वीकृत हुनेमा अधिकांशको अङ्ग्रेजी भाषामा तोकिएको मापदण्ड नपुगेको देखिएको छ । बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले त्यहाँ लैजाने नर्सका लागि आईलटीएस (इन्टरनेसनल इङ्लिस ल्याङग्वेज टेस्टिङ सिस्टम) वा ओईटी (अकुपेसनल इङ्लिस टेस्ट) कोर्स अनिवार्य गरेको छ । 

आईलटीएसको रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर ७ र राइटिङमा ६.५ ल्याएको हुनुपर्ने मापदण्ड छ । ओईटीको हकमा रिडिङ, राइटिङ र लिस्निङमा कम्तीमा बी ग्रेड त्याएको हुनुपर्छ  । 

त्यस्तै, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको, नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन गरेको हुनुपर्छ ।

आवेदन दिने नर्स नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त हुनपर्ने, पछिल्लो दुई वर्षभित्र मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ । आवेदन स्वीकृत भएकामध्ये २० जना ओईटी र दुईजना आईलटीएस गरेका नर्स छन् । तर, अधिकांशको आईलटीएस स्कोर नपुगेकै कारण आवेदन स्वीकृत नभएको घिमिरेको भनाइ छ । 

कतिपयको भने कार्यानुभवको प्रमाण पेस गर्न नसक्दा आवेदन अस्वीकृत भएको हो । केहीको फारम भर्ने प्रक्रियामा प्राविधिक त्रुटिको समस्या देखिएको छ । तर, बेलायत जानका लागि परेको यो आवेदन तुलनात्मक रूपमा नेपालको भन्दा न्यून रहेको मन्त्रालयको भनाइ छ । २० जुलाईदेखि खुलेको अनलाइन आवेदनमाको म्याद २० अक्टोबरसम्म रहेको छ । 

अझै एक महिनामा आवेदकको संख्या पर्याप्त थपिन सक्ने घिमिरे बताउँछन् । बेलायत सरकारसँग मन्त्रालयको पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा एकसयजना नर्स लैजाने सम्झौता भएको छ ।

घिमिरेका अनुसार आवेदन स्वीकृत भएका नर्सहरूको सर्ट लिस्टिङ र अन्तर्वार्ताको प्रक्रिया बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले नै गर्ने छ । सन् २०२४ को सुरुवातासम्ममा नै बेलायत पठाउने मन्त्रालयको तयारी छ । 

त्यहाँ पुर्‍याइएका नर्सलाई बेलायतको सरकारले पुनः तालिम दिने छ । तालिमप्राप्त नर्सले बेलायतको नर्सिङ नियामक निकायको परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने हुन्छ । सोपश्चात् उनीहरूले बेलायतकै नर्ससरह सेवा सुविधामा काम गर्न पाउने छन् । बेलायत पठाउन वर्षैपिच्छे आवेदन खुलाउने वा नखुलाउने  भन्नेबारे अहिले निर्णय नभएको मन्त्रालयले जनाएको छ ।